नियम १३
उपभोक्ता समूहको गठन
(१) संरक्षण क्षेत्रको संरक्षण कार्यमा सक्रिय रूपमा सहभागी गराउन र सो क्षेत्रबाट प्रत्यक्ष लाभ पाउने संरक्षण क्षेत्रभित्रका सम्बन्धित गाउँ विकास समिति अन्तर्गत वसोवास गरेका प्रत्येक घरधुरीको प्रतिनिधित्व हुने गरी उपभोक्ता समूह वा उपभोक्ता समूहहरू गठन गरिनेछ ।
(२) उपनियम (१) बमोजिम समूह गठन गर्दा संरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा महिलाहरूको सक्रिय सहभागितालाई सुनिश्चित गराउन सम्बन्धित समिति अन्तर्गतका महिला उपभोक्ताहरूको प्रतिनिधित्व हुने गरी आवश्यक संख्यामा आमा समूह
वा महिला समूह गठन गरिने छ ।
(३) उपनियम (१) र (२) बमोजिम गठन भएका उपभोक्ता समूहहरू सम्बन्धित समितिको सिफारिसमा परिषद्को कार्यालयमा दर्ता गर्नुपर्नेछ र दर्ता गर्ने प्रयोजनका लागि अनुसूची–५ कोे ढाँचामा सम्बन्धित उपभोक्ता समूहको विधान र कार्ययोजना संलग्न गरी परिषद्को कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम निवेदन पर्न आएमा परिषद्ले सो समूहलाई दर्ता गरी अनुसूची–६ को ढाँचामा प्रमाणपत्र दिनेछ ।
(५) उपनियम (१) र (२) बमोजिमको उपभोक्ता समूहमा प्रत्येक घरधुरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू समूहका सदस्य हुनेछन् त्यस्तो सदस्यले आफुहरूमध्येबाट एकजना अध्यक्ष र एकजना सचिव छनौट गर्नेछन् ।